काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तीन जना सरकारी कर्मचारी र एक निजी कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दायर आरोपपत्रअनुसार, ठेक्का आह्वानको सूचना प्रकाशनमै अनियमितता गरी सार्वजनिक खरिद ऐनको उल्लंघन गरिएको छ । यसै आधारमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रा.लि. का प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार, सूचना गोप्य राखी झुटा विवरणसहितको बिलमार्फत रु १ लाख ४२ हजार १६० भुक्तानी गरिएको पुष्टि भएको छ । यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत रहेको भन्दै सम्बन्धित व्यक्तिहरूमाथि कैद र जरिवानाको मागसहित मुद्दा अगाडि सारिएको आयोगले जनाएको छ ।
आयोगले ठेक्का प्रक्रियामा पारदर्शिता नहुँदा सार्वजनिक स्रोतको दुरुपयोग हुने र त्यसले सेवा प्रवाहमा गम्भीर असर पार्ने भएकाले यस्ता अनियमिततामाथि कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ ।




