पर्सा । पर्सा जिल्लामा समयमै युरिया मल उपलब्ध नगरिँदा चैते धानखेती गरेका किसानहरू गम्भीर समस्यामा परेका छन् । विशेष गरी गण्डक नहरदेखि उत्तरतर्फको थरुहट क्षेत्रमा धानखेतीमा जुटेका किसानहरूले मल अभावका कारण कठिनाइ भोगिरहेका छन् ।
धान रोपेको करिब २१ दिनपछि युरिया मल आवश्यक पर्छ । तर, कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडमार्फत नियमितरूपमा मल उपलब्ध नहुनु स्थायी समस्या बनेको छ । यसले गर्दा किसानहरूले आवश्यकता परेको बेलामा मल नपाउने अवस्थाको पुनरावृत्ति भइरहेको छ । हाल यिनै समस्याले थरुहट क्षेत्रका किसानहरू प्रभावित भएका छन् ।
मल अभावका कारण किसानहरू सीमावर्ती भारतीय बजारबाट महँगो मूल्यमा मल खरीद गर्न बाध्य भएका छन् । सहकारी संस्थाहरूलाई मल वितरण हुन नसकेकाले उनीहरू पनि मल अभाव देखाउँदै आएका छन् । यस्तो अवस्थामा केही व्यापारीहरूले पुरानो सञ्चित वा भारतबाट अवैधरूपमा ल्याइएको मललाई महँगो मूल्यमा बिक्री गर्दैछन् । तर, स्थानीय निकायहरूले यसप्रति कुनै चासो नदेखाउनु र मौन बस्नु खेदजनक पक्ष हो ।
चुनावका बेला किसानहरूको हकहितको चर्चा गर्ने नेताहरू अहिले मल अभावमा परेका किसानहरूको समस्या प्रति पूर्ण रूपमा चुप छन् । जनप्रतिनिधिहरूको पहल नदेखिनु र सहुलियतमा मल उपलब्ध गराउने वाचा पूरा नहुनु किसानहरूप्रति गरिएको धोखा हो । पालिकामा आउने मल सम्बन्धमा पनि कुनै चासो नदिइनु र सिफारिस प्रणालीमा आफन्त प्राथमिकता पाउनुले आम किसानहरूको विश्वासमा चोट पुर्याएको छ ।
सिंचाइको अवस्था राम्रो रहेपनि युरिया मलको अभावले गर्दा अहिले धानबाली सुक्ने डर किसानहरूमा छ । यस समस्याको तत्काल समाधान नगरे चाँडै नै पर्साका धान किसानहरू ठूलो क्षतिमा पर्ने जोखिम बढेको छ ।
यद्यपि कृषि सामग्री कम्पनीका अनुसार केही मात्रा मल मौज्दातमा रहेको जनाइएको छ, तर वितरण प्रणालीमा कमजोरी हुँदा किसानसम्म मल पुग्न नसकेको स्पष्ट देखिन्छ ।




