सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिकालाई जोड्ने उद्देश्यले बलान खोलामा निर्माण थालिएको झोलुंगे पुल पाँच वर्षसम्म पनि अलपत्र अवस्थामा छ ।
संघीय सरकारको अनुदानमा आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको उक्त पुल निर्माणको जिम्मा लिएको आईडी अंशुमन एसोसिएट्स जोइन्ट भेन्चर (जेभी) कम्पनीले अहिलेसम्म पुलको दुई छेउको फाउन्डेसनसमेत पूरा गर्न सकेको छैन ।
२०७७ असार २६ गते सम्झौता भएको यो आयोजना ३० महिनाभित्र, अर्थात् २०७९ पुस २६ भित्र सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । तर, तोकिएको समय नाघ्दासमेत काम सम्पन्न नहुँदा पुल अधुरै अवस्थामा रोकिएको छ ।
२०७८ भदौ १३ गतेसम्ममा एक करोड ३३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । तर त्यसयता निर्माण कार्य नहुँदा २०७९/८० मा विनियोजित ८ लाख रुपैयाँ बजेटसमेत फिर्ता भएको भगवानपुर गाउँपालिकाका प्राविधिक आनन्ददेव महतोले जानकारी दिए ।
उनका अनुसार, “निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया आएको छैन । बजेट सीमित छ, म्याद पनि थप हुन सकेको छैन । कम्पनीले आफैं काम गर्न मानेन ।” पुल निर्माण अलपत्र हुँदा स्थानीयरूपमा जनप्रतिनिधिहरूले परियोजनाको छानबिनको माग गरेका छन् ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने, “पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता हुने थियो । तर झन्डै डेढ करोड खर्च भइसक्दा पनि निर्माण अधुरो हुनु दु:खद छ । स्थलगत अवलोकन गर्दा कामको अनुपातमा खर्च बढी देखिएको छ, छानबिन आवश्यक छ ।”
भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले भने, आफू हालसालै मात्र पालिकामा आएकोले परियोजना बारे विस्तृत जानकारी नभएको बताए । निर्माण कम्पनीका प्रतिनिधि बसन्त बुढाथोकीसँग सम्पर्क गर्न खोज्दा सफल हुन सकेन ।




