सर्लाही । सर्लाही जिल्लाका दुई विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुट्टै आगलागी घटनामा तीन घर जली अन्दाजी १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मलंगवा नगरपालिका ७ बस्ने संजय महतोको घरमा दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोही आगो फैलिँदा छिमेकी रघुनाथ महतोको घरमा समेत आगलागी हुँदा करिब ५० हजार रूपैयाँ बराबरको सम्पत्ति जलेको प्रहरीले जनाएको छ ।
यसैगरी, शुक्रबार राति बागमती नगरपालिका ३ तीनघरिया टोलस्थित सुनिता महतोको घरमा समेत आगलागी भएको छ । उक्त आगलागीमा अन्नपात, लत्ता कपडा, भाँडावर्तन र नगदसहित करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुवै स्थानमा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




