महोत्तरी । वैशाख पहिलो साताको वर्षालगत्तै अचानक बढेको गर्मीका कारण महोत्तरी जिल्लामा सर्पको गतिविधि तीव्र भएको छ । सोही परिणामस्वरूप सर्पदंशका घटनाहरूमा उल्लेख्य वृद्धि भएको छ । बर्दिबास ३ स्थित सर्पदंश उपचार केन्द्रमा हालसम्म वैशाख महिनामात्रै ४७ सर्पदंशका बिरामीको उपचार गरिएको जानकारी प्राप्त भएको छ ।
केन्द्रका अनुसार हरेक वर्ष सर्पदंशका घटना हुने भएपनि साउन महिनामा सबैभन्दा धेरै बिरामी आउने गरेका छन् । वर्षासँगै सर्पहरूको आवतजावत बढ्ने भएकाले जोखिम पनि बढ्ने गरेको छ ।
उपचार केन्द्र २०७१ साल साउन ३१ गते स्थानीयको पहलमा स्थापना गरिएको हो । त्यसयता यो केन्द्रले दश वर्षको अवधिमा ३१ हजारभन्दा बढी सर्पदंश पीडितको उपचार गरिसकेको छ । केन्द्रमा तालिम प्राप्त ६ जना दक्ष प्राविधिक खटिएका छन्, जसले नियमित रूपमा बिरामीहरूको उपचार गर्दै आएका छन् ।
केन्द्रले महोत्तरीसहित सिन्धुली, सर्लाही, धनुषा, रामेछाप लगायत विभिन्न जिल्लाबाट आएका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । औषधि, कार्यालय व्यवस्थापन लगायतका पक्षको जिम्मेवारी सर्पदंश उपचार केन्द्रको कार्यसमितिले सम्हाल्दै आएको छ भने उपचार कार्य दक्ष प्राविधिकमार्फत सञ्चालन हुन्छ ।
केन्द्रका तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८८४, २०७९/८० मा ८७८, २०७८/७९ मा २,९३१ र २०७७/७८ मा ४,१९१ जनाको उपचार गरिएको थियो । वर्षेनी बढ्दो बिरामी संख्या र जोखिमलाई ध्यानमा राख्दै उपचार केन्द्रको प्रभावकारिता र पहुँच अझै विस्तार गर्नु जरुरी देखिएको छ ।
स्थानीयवासीले नजिकै सुलभ र भरपर्दो उपचार सेवा पाउन थालेपछि यस केन्द्रलाई जीवनरक्षक आश्रयको रूपमा लिँदै आएका छन् ।




