पर्सा । नयाँ कपडा किनिदिने प्रलोभन देखाएर एक नाबालिकालाई भारतको रक्सौल पुर्याई यौन शोषणमा संलग्न गराएको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नगवाकी २० वर्षीया आलिया खातुन रहेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । खातुनलाई वैशाख २७ गते पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार वैशाख २१ गते पीडित नाबालिकालाई नयाँ कपडा किन्न लगिन्छ भन्ने बहानामा खातुनले भारतको बिहार, रक्सौलस्थित एक होटलमा पुर्याएकी थिइन् । त्यहाँ पु¥याएर उनलाई यौनधन्दामा बाध्य बनाइएको थियो ।
भारतीय सुरक्षाकर्मीको सहयोगमा ती नाबालिकालाई उद्धार गरी नेपाल फर्काइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा खातुन यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको पाइएको प्रहरी उपरीक्षक मिश्रले बताए ।
खातुनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरिएको छ । उनलाई पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




