वीरगञ्ज । डिभिजन वन कार्यालयले प्रदान गरेको छुट पुर्जीभन्दा बढी मात्रामा गोलिया (काठ) लोड गरिएको आशंकामा सशस्त्र प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ ।
ठोरी गाउँपालिका क्षेत्रबाट काठ कटान गरिएको र चितवन राष्ट्रिय निकुञ्जबाट छुट पुर्जी लिइए पनि उल्लेखित परिमाणभन्दा धेरै गोलिया लोड गरिएको सूचनाका आधारमा प्रहरीले मङ्गलवार ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार काठ व्यवसायी अजमद्दीन मियाँ र नुरहसन मियाँले ठोरी गाउँपालिकाका विभिन्न स्थानबाट काठ कटान गरी छुट पुर्जी लिएका थिए ।
तर, उक्त पुर्जीमा उल्लेखित परिमाणभन्दा धेरै खयर प्रजातिका गोलिया ट्रकमा लोड गरिएको पाइयो । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले ट्रकलाई नारायणगढ हुँदै भैरहवातर्फ लैजाँदै गरेको अवस्थामा ठोरीमै रोकिएको हो ।
ट्रकमा काठसहित आवश्यक कागजातहरू पनि थिए, तर ती कागजातहरू सिलबन्द अवस्थामा रहेका कारण राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरूको उपस्थितिमा मात्र खोलिने जनाइएको छ ।
स्थानीयवासीका अनुसार छुट पुर्जीको नाममा बढी काठ लोड गरेर तस्करी गर्ने काम नियमितजस्तै भइरहेको छ । यसमा सरकारी कर्मचारीदेखि राजनीतिक तहसम्मको संलग्नता रहेको आशंका गरिएको छ ।
यो घटनाले काठ तस्करीविरुद्धको कानुनी व्यवस्था र संरक्षण क्षेत्रको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको टिप्पणी छ । उनीहरूका अनुसार यस घटनामा गहिरो अनुसन्धान र कडा कारबाही आवश्यक छ ।




