वीरगंज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका ३ हरिहरपुरका श्रीराम राउत र धोबिनी २ भिखमपुर पिपराकी सीमा कुमारी राउतबीचको विवाह कार्यक्रम अन्तिम चरणमा भाँडिएपछि ‘पाँच लाख रुपैयाँ’ क्षतिपूर्ति दिने सर्तमा बिहीवार दुबै पक्षबीच मिलापत्र भएको छ । स्थानीय जनप्रतिनिधि र पञ्चको सक्रियतामा दुवै परिवारलाई बसी सहमति गराइएको हो ।
सहमति अनुसार विवाहको अन्तिम समयमा मण्डपमै भाँडिएको घटनाको जिम्मेवारी केटापक्षले लिँदै केटीपक्षलाई पाँच लाख रुपैयाँ दिने, दुबै पक्षले आ-आफ्ना सन्तानको विवाह स्वतन्त्र रूपमा अन्यत्र गर्न पाउने र प्रहरी नियन्त्रणमा रहेका दुलहालाई परिवारको जिम्मा लगाउने सहमति भएको छ ।
विवाहकै दिन झगडा, दुलहा प्रहरी हिरासतमा
वैशाख २८ गते श्रीराम राउत जन्ती लिएर हरिहरपुर पुगेका थिए । सबै प्रक्रिया पुरा भइसकेपछि विवाह मण्डपमा सिन्दूरदानको बेला केटापक्षका केही सदस्यले अत्यधिक मादक पदार्थ सेवन गरी केटीपक्षसँग वादविवाद गर्दै केटीकी आमामाथि कुटपिट गरेपछि झगडा सुरु भएको हो ।
विवादपछि जन्ती भागेका थिए भने दुलहालाई केटीपक्षले घरमै रोकेका थिए । पछि स्थानीय इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियामा राखेको थियो ।
१२ लाख दाइजो मागको आरोप
केटीपक्षले विवाहका लागि दाइजो स्वरूप नगद ६ लाख र खाना–नाश्ता लगायत अन्य खर्चमा थप ६ लाख गरी १२ लाख रुपैयाँ खर्च भएको भन्दै केटापक्षसँग सो क्षतिपूर्ति माग गरेका थिए । तर अन्तत: स्थानीय सहमतिमा पाँच लाख रुपैयाँमा मिलापत्र भएको हो ।
प्रहरीमाथि राजनीतिक दबाबको आरोप
श्रीराम राउतलाई पर्याप्त प्रमाण हुँदाहुँदै पनि कारबाही नगरी चार दिन हिरासतमा राखेर छुटाइएको भन्दै प्रहरी प्रशासनमाथि राजनीतिक दबाबमा काम गरेको आरोप लागेको छ । स्थानीयवासीले प्रहरीको निष्पक्षता र निष्क्रियता प्रति शंका व्यक्त गरेका छन् ।




