धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रम्दैयामा रहेको वान्डरल्याण्ड वाटरपार्कमा शनिबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।
जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ सकेका विद्यार्थीहरूका लागि विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका लागि प्रवेश शुल्क मात्र १ सय रुपैयाँ तोकिएको थियो । तर, पार्कको क्षमताभन्दा दोब्बर संख्यामा विद्यार्थी उपस्थित भएपछि स्थिति तनावग्रस्त बन्दै झडपमा परिणत भएको हो ।
वान्डरल्याण्ड वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काका अनुसार संस्थासँग ७०० देखि ९०० जना विद्यार्थी मात्र आउने सहमति भएको थियो । तर, दुई हजारभन्दा बढी विद्यार्थी एकै पटक पार्क प्रवेश गर्न खोजेपछि झडप सुरु भएको उनले बताए ।
‘विद्यार्थीहरू आक्रोशित भएपछि पार्कको मूलगेट, सिसिटिभी क्यामेरा, सिसा, रुखबिरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी लगायत संरचनामा व्यापक तोडफोड भयो,’ गोइन्काले जानकारी दिए ।
झडपका क्रममा विद्यार्थीहरूले पार्कबाहिर सडकमा पार्क गरिएका दुई वटा हाइस गाडीमा समेत तोडफोड गरेका थिए । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेर अवस्था नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार झडपमा पाँच जना प्रहरी घाइते भएका छन् । घटनामा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ भने अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अहिले स्थिति सामान्य भएपनि क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




