काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा चालु आर्थिक वर्षको १० महिनामा मातहतका १२ जिल्लाबाट १ हजार ५ सय ६४ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका छन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजीव श्रेष्ठका अनुसार सबैभन्दा धेरै उजुरी रौतहट, बारा र पर्साका स्थानीय तहहरूसँग सम्बन्धित छन् । “रौतहटबाट मात्रै ४३० उजुरी परेका छन्,” उनले भने, “बाराबाट ३९७ र पर्साबाट ३५२ उजुरी दर्ता भएका छन् ।”
कम उजुरी पर्ने जिल्ला
सबैभन्दा कम उजुरी रसुवा र रामेछाप जिल्लाबाट परेको अख्तियारले जनाएको छ । दुवै जिल्लाबाट १० महिनामा जम्मा ३/३ वटा उजुरी मात्र दर्ता भएका छन् ।
सुशासनका लागि चुनौती
कार्यालयका प्रमुख उमाकान्त आचार्यले उजुरीहरूको संख्याले मधेश प्रदेशका स्थानीय तहमा सुशासन र विधिको शासन कार्यान्वयनमा चुनौती रहेको स्पष्ट पार्छ भन्ने धारणा व्यक्त गरे ।
“विकृति र विसङ्गति अन्त्य गरेर स्थानीय तहमा सुशासनको प्रत्याभूति गराउनु अहिलेको आवश्यकता हो,” उनले भने, “उजुरी परेकै भरमा डराउनुपर्ने अवस्था छैन, बरु यसलाई सुधारको अवसरको रूपमा लिनुपर्छ ।”
सार्वजनिक खरिदमा बढी गुनासो
डीएसपी श्रेष्ठका अनुसार सार्वजनिक खरिद र निर्माण प्रक्रियामा सबैभन्दा बढी उजुरी आउने गरेका छन् । “गलत इष्टिमेट बनाउने, कानुनको पालना नगर्ने, उपभोक्ता समितिको नाममा काम लिएर ठेकेदारमार्फत गराउने प्रवृत्ति बढेको छ,” उनले भने ।
फछ्र्यौट प्रगति
चालु आवको १० महिनामा अख्तियार हेटौँडा कार्यालयले १,०३९ वटा उजुरी फछ्र्यौट गरेको छ । गत वर्षभरिमा भने जम्मा ४५४ उजुरी मात्र फछ्र्यौट भएका थिए । हालसम्म चालु आवका ५२५ उजुरी र गत आवका ४६४ उजुरी फछ्र्यौट गर्न बाँकी रहेका छन् ।
कार्यक्षेत्र
हेटौँडा कार्यालयको कार्यक्षेत्रमा मधेश प्रदेशका तीन जिल्ला रौतहट, बारा र पर्सा र बागमती प्रदेशका नौ जिल्ला मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र रामेछाप पर्दछन् ।




