सिराहा । सिराहा जिल्लाको नरहा गाउँपालिका १ देवीपुरबाट करिब ३० किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार राति जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये सोही गाउँपालिका १ का ३५ वर्षीय संजय दास, ३१ वर्षीय रामशरण दास र सोही स्थानमा बसोबास गर्ने बारा, कलैया उपमहानगरपालिका ४ का स्थायी बासिन्दा २० वर्षीय धिरज महतो रहेका छन् ।
प्रहरीले नरहा गाउँपालिका १ स्थित रामदेव दासको घरमा तलासी गर्दा करिब ३० किलो गाँजा फेला पारेको हो । उक्त गाँजा लुकाइछिपाई राखिएको अवस्थामा भेटिएपछि लागूऔषध कारोबारमा संलग्न आशंकामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
यस घटनामा संलग्न घरधनी रामदेव दास भने फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।




