पर्सा । पर्साको वीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो प्रहरीले बागमती प्रदेश ०६–००१ ज ०४०७ नम्बरको ईभी गाडीमा सवार भारत बिहार राज्यको मोतिहारी जिल्ला, थाना ढोका फुलवारीया टोल निवासी ३० वर्षीय महमद रियाज अंसारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको उक्त गाडी चेकजाँच गर्दा ५ हजार ९ सय ९० ट्याब्लेट ट्रामाडोल र दुई थान मोबाइल फेला पारी अंसारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




