कपिलवस्तु । कपिलवस्तुको सुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा दाजु–बहिनीको ज्यान गएको छ । आइतबार साँझ खाना पकाउने क्रममा ग्यास रेगुलेटरमा खराबी आएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले जानकारी दिए ।
आगलागी घर नजिकै रहेको गोठमा फैलिँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि राति नै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । चिकित्सकले सोनमलाई भैरहवामै मृत घोषणा गरेका थिए भने गम्भीर अवस्थाका शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सोनम राष्ट्रिय उच्च माध्यमिक विद्यालय मुरफुटवा कक्षा १० मा अध्ययनरत विद्यार्थी थिइन् । उनको निधन प्रति शोक व्यक्त गर्दै विद्यालयले सोमबार बिदा दिएको विद्यालयका प्रधानाध्यापक लालचन्द पाण्डेयले जानकारी दिए । दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




