धनुषा । जनकपुरधाम उपमहानगरपालिका ६ मा दुई साँढेबीचको जुधाइमा परेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेका छन् ।
उनी मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटरमा सवार भएर पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ जाँदै गर्दा दुई साँढे जुधिरहेको अवस्थामा ठोक्किँएर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उपचारका लागि जानकी हेल्थ केयर लगिएकोमा चिकित्सकले गएराति नै उनलाई मृत घोषणा गरेका धनुषा प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
साँढे व्यवस्थापनको अभावमा जनकपुरधाम क्षेत्रमा पटक पटक दुर्घटना भइरहेपनि जिम्मेवार निकायले आवश्यक कदम नचालेको स्थानीयको गुनासो छ ।




