सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ झनझनेबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । रौतहटको गरूडा नगरपालिका ४ निवासी १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी झनझनेबाट खटिएको टोलीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र २–०३–००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई चेकजाँच गर्दा सिमेन्टको बोरामा लुकाईछिपाई राखिएको करिब १ सय ७ किलो १ सय १० ग्राम गाँजा फेला पारेको थियो ।
गाँजासहित बोलेरो चालक साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




