महोत्तरी । कारमा लुकाएर ल्याइँदै गरेको एक क्विन्टलभन्दा बढी गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति दोलखा बैतेश्वर गाउँपालिका ६ का २६ वर्षीय दीपक दाहाल हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, विशेष सूचनाका आधारमा शुक्रबार साँझ रामगोपालपुर नगरपालिका ५ स्थित बर्दिबास–जलेश्वर सडकखण्डको रामगोपालपुर चोकमा कार चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बागमती प्रदेश ०१–०२–०२३ च ८७३९ नम्बरको कार रोकेर जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइएको अवस्थामा ७ पोका गाँजा फेला पारेको थियो ।
ती पोकामा जम्मा १०७.९ किलोग्राम गाँजा रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए । पक्राउ परेका दाहालविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




