रौतहट । रौतहटको कटहरिया नगरपालिका १ स्थित भसेरवामा एक नवविवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । मृतकको पहिचान विजयपुर नगरपालिका ९ बडहरवा निवासी २२ वर्षीया आल्का यादव रहेकी छन् ।
आल्काको विवाह हालै मात्र कटहरिया १ का २६ वर्षीय अंकेश यादवसँग भएको थियो । विवाह पश्चात उनी श्रीमानको घरमै बस्दै आएकी थिइन् । तर मंगलबार साँझ करिब ७ बजेतिर उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
प्रहरीका अनुसार आल्काका श्रीमान् अंकेश यादव घटना पछि फरार छन् भने ससुरा पुकार राय यादवलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई विनोद राना मगरका अनुसार प्रारम्भिक अनुसन्धानले कुटपिटपछि हत्या भएको आशंका गरिएको छ ।
मृतकका माइती पक्षले आल्काको हत्या परिवारकै सदस्यको संलग्नतामा भएको आरोप लगाएका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




