सप्तरी । सप्तरी जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पहिलो घटना सुरूङगा नगरपालिका ५ श्रीपुरस्थित सडकमा भएको हो ।
ना ४ ख ६०६३ नम्बरको यात्रुवाहक बसको ठक्करबाट खडक नगरपालिका ३ कन्चिराका १६ वर्षीय सन्तोष पासवान गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सोही बसको ठक्करबाट अर्का एक जना घाइते भएका छन् जसको विराटनगर, मोरङस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै अर्को दुर्घटना महादेवा गाउँपालिका २ महादेवास्थित सडकमा भएको हो । महादेवाबाट तोपातर्फ जाँदै गरेको को १ त ५४०१ नम्बरको ट्याक्टरको ठक्करबाट एक पैदलयात्री १८ वर्षीया काजल कुमारी मण्डलको ज्यान गएको हो । उनको हाल वतन खुल्न सकेको छैन ।
ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई पनि गजेन्द्र नारायण सिंह अस्पताल, राजबिराजमा उपचारका लागि पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




