काठमाडौं । सप्तरी र बारा जिल्लामा गएराति भएका छुट्टाछुट्टै आगलागीका घटनामा दुई वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यी दुबै घटनामा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका ३ मौवा टोलमा राम बहादुर मण्डलको गोठमा मध्यराततिर आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गोठमा रहेको पराल, अन्न, पशुपालान सामाग्री लगायत सम्पूर्ण सामान जलेको हो ।
यसैबीच, बाराको प्रसौनी गाउँपालिका ७ बन्जरिया टोलमा मुक्तिनाथ महत्तो धानुकको गोठमा पनि गएराति आगलागी भएको छ । उक्त आगलागीमा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुवै स्थानमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन् ।




