वीरगंज । वीरगंज महानगरपालिका १ स्थित श्री रामदेनी तिवारी निमावि (आ.वि.) का शिक्षक चन्देश कुमार चौहानले नक्कली शैक्षिक प्रमाणपत्रमार्फत पदोन्नति लिएको पुष्टि भएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौहानले २०६० साल मङ्सिर ५ गते अंग्रेजी विषयको तृतीय श्रेणी शिक्षकको रूपमा स्थायी नियुक्ति पाएका थिए । २०७० साउन ८ मा ‘MAGADH UNIVERSITY, BODH-GAYA’ बाट B.A. (Hons.) पास गरेको भन्दै प्रमाणपत्र पेश गरी दोस्रो श्रेणीमा पदोन्नति लिएका थिए । तर प्रमाणपत्र झुट्टा निस्कियो !
उक्त शैक्षिक प्रमाणपत्र झुट्टा भएको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणित नहुनुका साथै, कागजात पूर्ण रूपमा नक्कली भएको खुलेपछि चौहानले गैरकानूनी लाभ लिएको पुष्टि भएको हो ।
भ्रष्टाचार ऐनअन्तर्गत मुद्दा
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम चौहानमाथि कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
पद, सेवा र सुविधामा गैरकानूनी लाभ !
नक्कली प्रमाणपत्रको आधारमा सरकारी सेवा, पदोन्नति र आर्थिक सुविधा लिएको पुष्टि भएपछि शिक्षक चौहानमाथि अख्तियारले कडा कारबाहीको माग गरेको छ ।




