सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदको नाममा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको २ करोड १६ लाख रुपैयाँको बजेटलाई अनियमित ढंगले टुक्रा-टुक्रा पारेर पाँच वटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो । अख्तियारका अनुसार स्वीकृत बजेटभन्दा ३७ लाख रुपैयाँ बढी अनुमानित लागत देखाएर बोलपत्र आह्वान गरिएको थियो ।
अख्तियारले भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै तत्कालीन पालिका अध्यक्ष विक्रम यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब इञ्जिनियर सन्तोष राय र राजु रायसहित स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल कम्पनीलाई पनि प्रतिवादी बनाएको हो ।
अख्तियारले यादव र साह दुवैविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको बिगो कायम गरेको छ भने लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६० रुपैयाँको बिगो दाबी गरिएको छ । यस्तै लेखापाल, जिन्सी शाखा प्रमुख र सब इञ्जिनियरहरूका हकमा संयुक्त रूपमा २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको हानि देखाइएको छ ।
आयोगका अनुसार खरिद प्रक्रियामा नियमविपरीत बजेट टुक्र्याउने, लागत फुलाउने, प्रतिस्पर्धा कमजोर पार्ने र निजी कम्पनीहरूलाई अनुचित लाभ पुर्याउने काम गरी सार्वजनिक स्रोतको दुरुपयोग गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार गैरकानूनी लाभ लिई जनतालाई आर्थिक हानि पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । यो प्रकरण मधेस प्रदेशकै स्थानीय तहमा देखिएको आर्थिक अनियमितताको एक ज्वलन्त उदाहरण हो ।




