रौतहट । रौतहटको वृन्दावन नगरपालिका ७ मा शुक्रबार खेतबाट सडकमा ट्याक्टर निकाल्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि वृन्दावन ७ का २४ वर्षीय नजामोदिन मंसुरीको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार मृतक मंसुरी इक्रुल मंसुरीका छोरा हुन् र पेशाले ट्याक्टर चालक थिए । घटना वृन्दावन ७ स्थित हुसेनीचोक र आकरपाथरबीचको भित्री सडक खण्डमा भएको हो ।
ना ४ त २०६८ नम्बरको गिट्टी लोड गरिएको ट्याक्टर खेतबाट मुख्य सडकमा चढाउने क्रममा अगाडिको भाग अचानक उठेपछि चालक मंसुरी स्टेरिङ र सवारीबीच च्यापिएका थिए ।
स्थानीयले तत्काल उनलाई अचेत अवस्थामा उद्धार गरी चन्द्रपुर अस्पताल पुर्याएका थिए, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ ।




