बाँके । बाँकेको कोहलपुर मालपोत कार्यालयमा कार्यरत खरिदारहरूले जग्गाको मोठ भिडाउने कार्यमा घुस लिएर सेवा प्रदान गरेको पुष्टि भएपछि चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले खरिदार हरिचन्द्र पाण्डेलाई लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग रु. २०,००० घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
उनलाई घनश्याम तिवारीको रेस्टुरेन्टमा उक्त रकम राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । घटनामा खरिदार रतन बहादुर जि.सी., लेखापढी व्यवसायी शान्ति पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीको संलग्नता समेत देखिएको छ ।
अनुसन्धानमा उनीहरू चारै जनाले आपसी मिलेमतो गरी सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको छ । अख्तियारले राष्ट्रसेवकहरू हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी. विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको छ । उनीहरूमाथि कैद सजाय र रु. २०,००० बराबरको बिगो जरिवाना माग गरिएको छ ।
त्यस्तै, शान्ति पुन र घनश्याम तिवारीले पनि घुस लिने कार्यमा मोलाहिजा गरी सहकार्य गरेको आरोप लागेका छन् । उनीहरू उपर पनि ऐनको दफा ३ को उपदफा (२) अनुसार कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।




