पर्सा । बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । विकास योजनामा अनियमितता र ठेक्का प्रक्रियामा हस्तक्षेप गरी गैरकानुनी लाभ लिएको ठोस प्रमाण भेटिएको भन्दै आयोगले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
श्रीवास्तवलाई आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा कार्यरत रहँदा विभिन्न योजना, बजेट विनियोजन र ठेक्का सम्झौतामा पदको दुरुपयोग गर्दै आर्थिक लाभ लिएको गम्भीर आरोप लागेको छ ।
आयोग स्रोतका अनुसार, श्रीवास्तवले आफ्नो पदको प्रभाव प्रयोग गर्दै सेवाग्राहीसँग रकम मागेको र लिएको पुष्टिका लागि पर्याप्त प्रमाण प्राप्त भएका छन् । पोखरिया नगरपालिकामा कार्यरत रहँदा पनि उनले यस्तै खालका अनियमित क्रियाकलाप गरेको भन्दै अनुसन्धान विस्तार गरिएको जनाइएको छ ।
हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ । यस घटनाले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको भन्दै अख्तियारले छानबिन थप सघन बनाउने तयारी गरेको बताइएको छ ।




