रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बुधबार बिहान एकै रात तीन वटा घरमा चोरी भएको छ । चोरहरूले गरी करिब १० लाख २५ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
माधवनारायण नगरपालिका ५ मिठुअवास्थित प्रमोद सहनीको घरबाट मोबाइल ५ थान र नगद १५ हजार रुपैयाँ चोरी भएको छ । त्यस्तै, ठागा सहनीको घरबाट चोरहरूले चाँदीको पायल २ जोर, सुनको मंगलसूत्र १ थान र नगद २० हजार रुपैयाँ लुटेका छन् ।
साथै सोही नगरपालिका ३ सखुअवा निवासी रामपुकार साह कानुको घरबाट सुनका विभिन्न गरगहना, चाँदीको पायल २ जोर र नगद ३ लाख रुपैयाँ चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
तीनवटै घरबाट गरी कुल करिब १० लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको अनुमान गरिएको छ । हाल चोरीमा संलग्न रहेका फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




