रौतहट । रौतहट जिल्लामा सर्पदंशका कारण दुई जनाको ज्यान गएको छ । गर्मी मौसमसँगै सर्पको सक्रियता बढेपछि जिल्लामा सर्पदंशका घटनाहरू बढिरहेका छन् भने स्थानीयवासी त्रसित भएका छन् । पहिलो घटना कटहरिया नगरपालिका ५ पानी टंकी टोलमा भएको हो । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार २५ वर्षीया स्थानीय रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो ।
रिंकु देवीलाई आज बिहान घरअगाडि थुपारिएको माटो हटाउने क्रममा विषालु सर्पले डसेको थियो । उनलाई तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए । हालसम्म कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन ।
त्यस्तै, दुई दिनअघि ईशनाथ नगरपालिका ६ पलटुवा टोलमा पनि सर्पदंशका कारण एक व्यक्तिको ज्यान गएको थियो । स्थानिय सरफुद्दीनका जेठा छोरा कमरुद्दिन सर्पले डसेपछि मृत्यु भएको पुष्टि भएको छ । यद्यपि घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।
यी दुई घटनाले रौतहटमा सर्पदंशको जोखिम बढ्दो अवस्थामा रहेको देखाएको छ । स्थानीयवासीमा त्रास फैलिएको छ भने स्वास्थ्य तथा सुरक्षा निकायले तत्काल सचेतता अभियान र सर्प नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने देखिएको छ ।
विशेषज्ञहरूको सुझाव
– सर्पले डसेपछि तुरुन्त नजिकको अस्पतालमा जानुहोस् ।
– घर वर परको झारपात हटाउनुहोस्, फोहोर व्यवस्थापनमा ध्यान दिनुहोस् ।
– सुरक्षात्मक जुत्ता र लुगा प्रयोग गर्नुहोस् ।
– सर्प देखिएमा आफैं नियन्त्रण गर्न नखोजी सम्बन्धित निकायलाई खबर गर्नुहोस् ।
स्थानीय प्रशासन तथा स्वास्थ्य संस्थाहरूलाई सर्पदंशको उपचारमा तयारी बढाउन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न विज्ञहरूले आग्रह गरेका छन् ।




