जनकपुरधाम । मधेश प्रदेशसभाकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट र हमलाको प्रयास भएको छ । सांसद दासले सामाजिक सञ्जालमार्फत आफूमाथि मंगलबार राति लहानमा आक्रमणको प्रयास भएको जानकारी दिएकी हुन् ।
उनका अनुसार राति करिब १२:३० बजे जनकपुरबाट लहानस्थित घर फर्किने क्रममा एनएमबी बैंकको गल्लीमा दुई जना युवाले लखेटी लुटपाट तथा हमला गर्ने प्रयास गरेका थिए ।
दासले समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोल्दा आफू जोगिन सफल भएको बताएकी छन् । सांसद दासले घटना स्थल प्रहरी चौकी नजिकै भएपनि आफू असुरक्षित महसुस गर्नुपरेको भन्दै राज्यको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न उठाएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रूपमा दलित समुदायको हत्या हुँदैछ । थाना नजिक मेरो घर छ, तर पनि यति असुरक्षित । केही महिना अघि मेरै घर अगाडि एक जनालाई छुरा प्रहार गरिएको थियो । आफ्नै घरमा समेत डर त्रासको वातावरण छ, कसरी बाँच्ने ?”
उनले आफूले प्रहरी अधिकारी (डीएसपी) लाई खबर गर्दा पनि गम्भीरतापूर्वक नलिएको आरोप लगाएकी छन् । हालसम्म यस विषयमा प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन । सांसदमाथिको यस्तो घटनाले प्रदेशसभाका जनप्रतिनिधिहरूसमेत असुरक्षित महसुस गरिरहेका छन् भन्ने सन्देश दिएको छ ।




