जनकपुर । जनकपुरधाम–जयनगर चलिरहेको रेलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनरजोडाका ४५ वर्षीय विनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी विकरु साहका छोरा हुन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२:३० बजे धनुषाको औरही गाउँपालिका २ देउरी प्रवाहास्थित रेलको लिकमा जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनापछि साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुण बहादुर सिंहका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।




