महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका ३ शिव चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बा प्र ०६–००५ प ६४३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पिपरा ४ निवासी ७३ वर्षीया शिवो देवीको ज्यान गएको हो ।
मंगलबार दिउँसो सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी शिवो देवीलाई तत्काल जनता अस्पताल पिपरामा पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना व्यक्ति पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




