जाजरकोट । जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि आइतबार दिउँसो कार्यकक्षमै कुटपिट भएको छ । कार्यालय समयमै अज्ञात समूह प्रवेश गरी शाहमाथि हातपात गरेपछि जिल्लामा सुरक्षा चुनौती बारे गम्भीर प्रश्न उठेको छ ।
शाहका अनुसार उनी सामान्य प्रशासनिक कार्यमा व्यस्त रहेका बेला ३–४ जनाको समूह अचानक कार्यकक्षभित्र छिरेर दुव्र्यवहार गर्दै हातपात सुरु गरेको थियो । ‘कसैसँग विवाद नै भएको थिएन, तर उनीहरू रिसाउँदै आए र मलाई थिच्दै कुट्न थाले,’ शाहले बताए । घटनामा उनलाई हल्का चोट पटक लागेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले अनुसन्धान अघि बढाएको छ । कार्यालय वरपरको सीसीटीभी फुटेज संकलन गरिसकिएको र ती दृश्यको विश्लेषण गरी आक्रमणकारीको पहिचान तथा पक्राउ प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
यसैबीच, केही दिनअघि सार्वजनिक एक भिडियोमा प्रमुख शाहलाई मदिरा सेवन गरिरहेको देखाइएको भन्दै आलोचना भएको थियो । तर शाहले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा फैलाइएको दाबी गरेका छन् ।
‘भिडियो कार्यालय समय बाहिरको हो, त्यसलाई देखाएर बदनाम गर्ने प्रयास भयो’, उनले प्रतिक्रिया दिएका छन्, ‘तर त्यसको आधारमा शारीरिक आक्रमण गर्नु पूर्णत: गलत र आपराधिक हो ।’




