धनकुटा । सेवाग्राहीसँग घुस लिएको आरोपमा यातायात कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईंटेलमाथि नेकपा (बहुमत) धनकुटाले जनकारबाही गरेको छ । पार्टीका कार्यकर्ताहरूले उनलाई सार्वजनिक रूपमा कालोमोसो दलेका हुन् ।
पार्टीका स्थानीय नेताहरूका अनुसार लुईंटेलले सवारी दर्ता, चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी कागजात नवीकरणजस्ता सेवाहरूमा सेवाग्राहीहरूसँग घुस माग्दै आएको उजुरीपछि कारबाही गरिएको हो ।
घटना बारे प्रतिक्रिया दिँदै नेकपा (बहुमत) धनकुटाका जिल्ला संयोजकले भने, “जनताको पसिना र करबाट तलब खाने कर्मचारीले फेरि जनतामाथि शोषण गर्छ भने जनकारबाही अनिवार्य हुन्छ । भ्रष्टाचारविरुद्धको हाम्रो अभियान निरन्तर चल्नेछ ।”
जनकारबाहीको क्रममा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको थियो । कारबाहीपछि लुईंटेललाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
यसबीच, कार्यालय प्रमुख लुईंटेलले आफू निर्दोष रहेको दाबी गर्दै यो घटना योजनाबद्धरूपमा गराइएको प्रतिक्रिया दिएका छन् । उनले कुनै पनि सेवाग्राहीसँग घुस नलिएको र आफूलाई फसाउने नियतले घटना रचिएको बताएका छन् ।
धनकुटामा पछिल्लो समय सरकारी कार्यालयहरूमा भइरहेका भ्रष्टाचार, अनियमितता तथा सेवाग्राहीप्रति हुने दुर्व्यवहारविरुद्ध सर्वसाधारण र विभिन्न राजनीतिक समूहहरूको चासो तीव्र बनेको छ । यसले प्रशासनिक सेवा प्रवाहप्रति जनताको असन्तोष झनै बढ्दै गएको देखिन्छ ।






