सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयमै नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो करीब १:४५ बजेको समयमा मेयर साहले एक उपभोक्ता समितिबाट अन्तिम भुक्तानीका लागि मागेको एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात समातेको हो ।
घटनापछि अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर प्रारम्भिक सोधपुछ गरिरहेको छ । कानुनी प्रक्रिया पूरा गरी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आयोगको कार्यालय बर्दिबास ल्याइने तयारी भइरहेको अख्तियारले जनाएको छ ।
मेयर साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवारी दिएर विजयी भएका थिए । अख्तियारले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




