सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १ स्थित लखनदेही पुल नजिक रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसरभित्र करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घटना आज बिहान करिब ६:४५ बजे घटेको हो । रौतहटबाट धानको भूसा लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गुज्रिरहेको ११ हजार भोल्टको विद्युत् लाइनबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर ट्रकमा कार्यरत खलाँसी, रौतहटको वृन्दावन नगरपालिका ७ निवासी ३० वर्षीय दिनेश पासवान गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए ।
मृतक पासवानको बिहान ७:१० बजे हरिवनस्थित नमुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । उक्त घटनामा ट्रकमा कार्यरत अन्य तीन जना पनि घाइते भएका छन् ।
घाइतेमध्ये २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान दुवैका हात र खुट्टामा गम्भीर रूपमा करेन्ट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तुरुन्तै उपचारका लागि नमुना अस्पताल, हरिवन पठाएको थियो ।
प्रहरीका अनुसार, सो ट्रक हाल इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ । ट्रक चालक वीरगञ्ज महानगरपालिका ३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि करेन्ट लागेर घाइते भएको र उनको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ५०० मिटर पश्चिममा पर्दछ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




