पर्सा । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका २ सुर्जाहाकट्टिबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले परालले छोपेर राखिएको अवस्थामा ६ वटा बोरामा राखिएको १ सय ५७ किलोग्राम गाँजा फेला पारेको हो ।
गाँजा स्थानीय जंगल क्षेत्र वा सीमावर्ती इलाकाबाट तस्करी प्रयोजनका लागि भण्डारण गरिएको हुन सक्ने अनुमान गरिएको छ । हाल प्रहरीले बरामद गाँजालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । यस घटनासँग सम्बन्धित व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।




