सप्तरी । सप्तरीको राजबिराज नगरपालिका ७ स्थित रंगशाला नजिक बसोबास गर्ने ५३ वर्षीय नारायण बहादुर कार्कीलाई प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति कार्कीको घरमा तलासी गर्दा स्पास्मो प्रोक्सिभन ३८२ ट्याब्लेट, नाईट्राजेपाम १४९ ट्याब्लेट, नगद २ लाख ५० हजार ५१० नेपाली रूपैयाँ, ६ हजार ३३० भारतीय रूपैयाँ र १३ थान मोबाइल फोन फेला पारेको हो ।
लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले विशेष सूचनाका आधारमा उनको घरमा छापा मारेको जनाएको छ । बरामद सामग्रीहरू नियन्त्रणमा लिई कार्कीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्की लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको शंका गरिएको छ, र यो गिरोहसँग सम्बन्धित अन्य व्यक्ति पनि अनुसन्धानको दायरामा ल्याइनेछ ।




