रौतहट । रौतहटको गरुडामा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक नेपाली नम्बरको ब्रेजा कार बरामद गरेको छ । कार खेतको खाल्डोमा फेला परेको छ भने चालक भने फरार छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो गाँजा बरामद गरिएको हो ।
प्रहरीले क्रेनको सहयोगमा करिब २० फिट तल खेतमा अड्किएको कार माथि ल्याएर तलासी गर्दा प्लास्टिकको छुटाछुट्टै पोका बनाएर राखिएको गाँजा फेला परेको हो ।
उक्त कार चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको अवस्थामा आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोकेर जाँच गर्न खोज्दा चालकले कार तिव्र गतिमा भगाएका थिए । प्रहरीको पछयाइपछि कार चालकले गरुडा नगरपालिका ५ स्थित झाँझ खोला नजिकको खेतमा करिब २० फिट तल गाडी झारेका थिए ।
डिएसपी कार्कीका अनुसार चालक खेतमा गाडी छोडेर उखुबारी हुँदै फरार भएका छन् । प्रहरी टोलीले चारैतिरबाट उखुबारी घेरा हालेर खोजी गरे पनि चालकलाई पक्राउ गर्न नसकिएको जनाएको छ । बरामद कारसहितको गाँजा बारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले कारको विवरण तथा अन्य प्रमाणको आधारमा गाँजाको वास्तविक कारोबारीसम्म पुग्न सकिने विश्वास लिएको छ ।




