सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मा जग्गा विवादका कारण छोराले आफ्नै बुबाको हत्या गरेका छन् । ६० वर्षीय सबिब अंसारीको छुरा प्रहारबाट हत्या गरेको आरोपमा उनका छोरा ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुबाछोरा बीच जग्गासम्बन्धी विषयमा वादविवाद हुँदै जाँदा रियाजले सबिबमाथि छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सबिबलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको टोलीले अभियुक्त रियाज अंसारीलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो ।
हाल घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयस्तरमा समेत यस घटनाले गहिरो आघात पुर्याएको छ भने पारिवारिक झगडा कति घातक हुन सक्छ भन्ने कुराको संकेत पनि दिएको छ ।






