सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहमा घरेलु विवाद छुट्याउन गएका एक व्यक्तिको आफ्नै भाइको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।
२५ वर्षीय श्याम सदा र उनकी पत्नी कौशिल्या देवी सदा बीच घरेलु विवादका कारण झगडा भइरहेको थियो । सो झगडा छुटाउन गएका श्यामका ३५ वर्षीय दाइ मोतिराम सदा ९लेलहा० माथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
छातिमा गम्भीर चोट लागेका मोतिरामलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पुर्याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए ।
डिएसपी पासवानका अनुसार खुकुरी प्रहार गरी जंगलतर्फ फरार भएका श्याम सदाको खोजी कार्य भइरहेको छ । “फरार रहेका श्यामलाई चाँडै नियन्त्रणमा लिइनेछ,” डिएसपी पासवानले भने ।
मोतिराम सदाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




