महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ काँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ पक्राउ परेकामध्ये एक जना सिराहा र अर्का धनुषाका बासिन्दा रहेका छन् ।
पक्राउ पर्नेमा सिराहा धनगढीमाई नगरपालिका ७ का २४ वर्षीय प्रवेश यादव र धनुषा धनुषाधाम नगरपालिका ८ का ३२ वर्षीय प्रवेण अधिकारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७७ प ५५०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने करिब ७३० मिलिग्राम लागूऔषध बरामद गरिएको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




