रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदीमा जल लिने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । नुनथर क्षेत्रमा बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो ।
मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपत्ता भएको जानकारी गराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको शव फेला पारेको हो ।
बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।




