सिराहा । सिराहाको लहान नगरपालिका २३ बथनाहा चोकस्थित सडकमा मोटरसाइकल र अटो एकआपसमा ठोक्किँदा अन्दाजी १८ वर्षीय एक किशोरको मृत्यु भएको छ । आइतबार बेलुकी भएको उक्त दुर्घटनामा दुई जना अन्य घाइते भएका छन् ।
म प्र ०१–००४ प ७४०३ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ ह ०४६९ नम्बरको अटो एकआपसमा ठोक्किएपछि अटोमा सवार हाल नाम, थर र वतन नखुलेका किशोर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक र अटोमा सवार एक जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार अटो चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




