वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा तीन महिनादेखि स्वास्थ्य प्रयोगशालामा परीक्षण किटको अभाव हुँदा नियमित सेवाहरू ठप्प छन् । प्रदेश सरकारको सहयोगमा स्थापित यस प्रयोगशालामा करिब ४२ प्रकारका परीक्षणहरू गर्ने क्षमता रहेपनि हाल किट अभावका कारण पाँचथरी सामान्य परीक्षण मात्र भइ रहेका छन् । यसले गर्दा स्थानीय सेवाग्राहीहरू नजिकैको वीरगंज, जितपुर, चितवन वा काठमाडौंसम्म जान बाध्य भएका छन् ।
गाउँपालिकाले स्थानीय तहमै प्रयोगशाला स्थापना गरेपछि पहिले अन्यत्र जानुपर्ने बाध्यता हटेको थियो । उच्च प्राविधिक क्षमता र प्रविधि सम्पन्न उपकरणसहित सञ्चालनमा आएको प्रयोगशालाबाट दीर्घरोगदेखि सामान्य स्वास्थ्य समस्या समेतको परीक्षण सहजै हुने गरेको स्थानीयबासी बताउँछन् । तर, हाल प्रदेश सरकारले परीक्षण किट समयमा नपठाएको र गाउँपालिकाले पनि वैकल्पिक व्यवस्था नगर्दा सेवा पूर्णरूपमा अवरुद्ध भएको ल्याब टेक्निसियन उमाशंकर प्रसादले जानकारी दिए ।
अन्य पालिकामा भने नियमित सेवा
पछिल्लो तीन महिनादेखि किट अभाव झेलिरहेको सखुवाप्रसौनीको तुलनामा, पर्सागढी नगरपालिका र पटेर्वासुगौली गाउँपालिकाले भने समयमै किट व्यवस्थापन गरेकाले सेवा नियमित रुपमा दिइरहेका छन् । पर्सागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण पाण्डेले तीन महिना अघि नै किटको व्यवस्था गरेर नियमित सेवा सुनिश्चित गरिएको बताए । त्यस्तै, पटेर्वासुगौलीका स्वास्थ्य शाखा प्रमुख बृजेन्द्र प्रसाद यादवले पनि किटको व्यवस्था समयमै गरिएकोले सेवामा कुनै असर नपरेको जानकारी दिए ।
किट मागमा चुक, बजेट अभाव
सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु शेरचनले भने प्रयोगशालाबाट समयमा किटको माग नआएको र अहिले बजेट अभावका कारण तत्काल व्यवस्था गर्न नसकिएको स्वीकारे । उनका अनुसार यदि असार महिनाभित्रै किटको माग आएको भए, पालिकाले व्यवस्थापन गर्न सक्थ्यो । तर अहिले माग गरिएको भएपनि बजेट अभावमा प्रक्रिया अघि बढाउन नसकिएको उनले स्पष्ट पारे ।
सस्तोमा गुणस्तरीय सेवा, तर…
प्रदेश सरकारले पालिकास्तरमा प्रयोगशाला निर्माण गरेर अन्यत्रको तुलनामा ७५ प्रतिशत कम लागतमा सेवा दिन थालेपछि स्थानीयको आकर्षण बढेको थियो । धेरै परीक्षणहरू स्थानीय स्तरमै सुलभ रूपमा हुन थालेपछि प्रयोगशालाको प्रयोग दर बढ्दै गएको थियो । तर हाल किट अभावकै कारण यस्तो सुविधा फेरि अवरुद्ध हुन पुगेको छ ।




