रौतहट । अत्यधिक गर्मी र लगातारको सुख्खा मौसमले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ कोपवाका बासिन्दालाई गम्भीर खानेपानी संकटको सामना गरिरहेका छन् । अधिकांश चापाकलहरू सुक्न थालेपछि स्थानीय बासिन्दा बिहानैदेखि पानीको खोजीमा भौँतारिन थालेका छन् । पुराना चापाकलहरू एकपछि अर्को गर्दै सुक्दै जाँदा गाउँमा पानीका मुहान हराउँदै गएका छन् ।
भूमिगत जलस्तर घट्दै गएकाले अब प्रयोगमा रहेका केही चापाकलहरूमा पनि पानी आउन बन्द हुने डर छ । “पहिले बिहान बेलुका सजिलै पानी पाइन्थ्यो, अहिले भने एक गाग्रो पानी भर्न घण्टौं लाममा बस्नुपर्छ,” स्थानीय कमल यादवले गुनासो गरे । उनका अनुसार अब बाँकी रहेका केही चापाकलहरूमा वृद्धवृद्धा, महिला तथा बालबालिका टाढाबाट गाग्रो बोकेर आउँछन् र पालो कुरेर पानी लैजान्छन् । तर त्यो पनि कहिले सुक्ने हो भन्ने चिन्ताले गाउँभर त्रास फैलिएको छ ।
“खानेपानीको हाहाकार छ, चापाकलको विकल्प खोज्न जरुरी छ,” यादवले भने, “तीनै तहका सरकार यस विषयमा गम्भीर हुनुपर्छ ।” कोपवा जस्तो ग्रामीण क्षेत्रमा खानेपानीका प्रमुख स्रोतकै रूपमा रहेका चापाकलहरू सुक्न थालेपछि दैनिक जीवन कष्टकर बनेको छ । स्थानीयवासी सरकारले वैकल्पिक पानी स्रोतको तत्काल व्यवस्था गरिदिने अपेक्षामा छन् ।




