चितवन । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकाराम लम्सालमाथि कार्यालय समयमा नै कालो मोसो दलेर दुर्व्यवहार गरिएको छ । आज दिउँसो कार्यालय समयमा मुखमा मास्क लगाएका दुई जना अपरिचित व्यक्तिहरू सेवाग्राहीको भेषमा कार्यालयमा प्रवेश गरी लम्सालमाथि झोलामा ल्याएको कालो पदार्थ फालेका हुन् । लम्सालका अनुसार उनी आफ्नो कार्यकक्षमा व्यस्त रहेका बेला घटना भएको हो ।
उनका अनुसार आरोपित व्यक्तिहरूको पहिचान भइसकेको छ र प्रहरीमा जाहेरी दिने तयारी भइरहेको छ । घटनापछि ती व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘शालिकाराम लम्साललाई कारबाही किन’ भन्ने शीर्षकसहित पर्चा सार्वजनिक गरेका छन् ।
उक्त पर्चामा पूर्वी चितवनका विभिन्न स्थानमा अवैध कित्ता काट गर्दा घुस लिएको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई समेत कित्ता काट गरी भूमाफियालाई सहयोग गरेको, सेवाग्राहीसँग रकम लिएको लगायतका आरोप उल्लेख छन् ।
यसअघि गत असार ३० गते बहुमत पार्टीका क्षेत्र नम्बर ३ इन्चार्ज दिपकले नापी कार्यालय खैरहनी, पर्साका नाममा पत्र काटी सहयोग रकमको माग गरेको समेत सार्वजनिक भएको थियो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ ।






