सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको गोली हानी हत्या गरिएको छ । यस घटनाका मुख्य योजनाकार अघिल्लो वर्ष आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका धिरेन्द्र राय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार शुक्रबार राति करिब साढे ८ बजेतिर हरिपूर्वा नगरपालिका ५ का २६ वर्षीय धिरेन्द्र (धर्मेन्द्र) रायले बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा आएका थिए ।
मोटरसाइकलमा पछाडि सवार रहेका व्यक्तिले शिक्षक यादवलाई टाउकोमा गोली हानी फरार भएका थिए । यादवलाई महोत्तरीको जानकी एकेडेमिक हस्पिटल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
गोली प्रहारपछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालक धिरेन्द्र घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल हुँदै जनकपुर प्रादेशिक अस्पताल लगाइएको थियो ।
उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको डिएसपी राईले जानकारी दिए । प्रहरीका अनुसार धिरेन्द्र पहिले पनि गम्भीर अपराधमा संलग्न थिए ।
१० असोज २०८१ मा उनले आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली हानी हत्या गरेका थिए भने उनका बुवा राम दिनेश रायलाई समेत गोली हानेर घाइते बनाएका थिए । श्रीमतीको हत्यापछि धिरेन्द्र फरार थिए । १४ असोज २०८१ मा बुवा राम दिनेशले छोराविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।
घटनास्थल र धिरेन्द्रको मलंगवा ९ स्थित डेराबाट प्रहरीले नलकटुवा पेस्तोल, गोलीका खोका लगायतका सामग्री बरामद गरेको छ । धिरेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनामा धिरेन्द्रसँगै संलग्न रहेका मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने अझै फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी प्रवक्ता डिएसपी राईले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार धिरेन्द्रको रामपुकार यादवका छोरा सुमितसँग विवाद भएको थियो र सोही विवादलाई आधार बनाएर हत्या गरिएको देखिएको प्रहरीको भनाइ छ ।




