कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि सोमबार ७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरी आरोप–पत्र दायर गरिएको हो ।
जिल्ला कैलाली, चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनमा काठसम्बन्धी बिमार्का र छोडपूर्जी मिलाइदिने बहानामा यादवले सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले उक्त रकम घुसको रूपमा लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार केही समयअघि यादव सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिँदै अख्तियारको टोलीको नियन्त्रणमा परेका थिए । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार उनीविरुद्ध कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरी कैद र जरिवानाको माग गरेको छ ।




