रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् । गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै धर्नामा बसेका हुन् ।
गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्बर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधबार विहान १० बजे देखि धर्नामा बसेका छन् ।
संघर्ष समितिका संयोजक समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो । पालिकाबाट हुने हरेक काम पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनुपर्ने उनले बताए ।
आर्थिक वर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायत माग गरिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष महमद सउदले गाउँ सभा गर्ने तयारी समेत भई रहेकाले विरोध नगर्न सुझाव दिए । गाउँ सभाबाट मागहरु पारित भएपछि विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए । आउँदो ६ गते गाउँ सभा गर्ने तयारी थालेको समेत उनले बताए ।




