रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नं. २ का अध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन् । १३ सूत्रीय मागसहित उनले बुधबार राति ८ बजेदेखि अनसन थालेका हुन् ।
यादवको अनसनलाई गाउँसभाबाट निर्वाचित २१ जना सदस्यले साथ दिएका छन् । उनीहरूले गाउँपालिका कार्यालय सरुअठामा बिहीबार बिहान १० बजेदेखि धर्ना पनि सुरु गरेका छन् ।
अनसनकर्ता यादवले गाउँपालिका अध्यक्ष महमद सउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव र लेखापाल श्रीनारायण झामाथि आर्थिक ब्रम्ह्लुट, मनोमानी ढंगमा कर्मचारी नियुक्ति र अपारदर्शी ढंगले काम गरेको गम्भीर आरोप लगाएका छन् ।
संघर्ष समितिका संयोजकसमेत रहेका वडाध्यक्ष यादवले पालिकाको कामकाज पारदर्शी नभएकाले जनतामा निराशा बढेको दाबी गर्दै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
यसैबीच, गाउँपालिका अध्यक्ष महमद सउदले वडाध्यक्ष यादव निर्वाचनदेखि नै आफूविरुद्ध रहेपनि मागबारे छलफल गर्न तयार रहेको बताए । उनले आउँदो ६ गते हुने गाउँसभाबाट उचित निर्णय गरेर सूचना दिने प्रतिबद्धता जनाएका छन् ।
अनसनमा राखिएका १३ बुँदे मुख्य माग
– आर्थिक वर्ष २०७९ देखि ८२ सम्मका गाउँसभा निर्णय, कार्यपालिका बैठकका माइनुट, बजेट योजना सम्बन्धी सम्पूर्ण कागजात, बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने ।
– पालिकामा कर्मचारी नियुक्तिसम्बन्धी प्रमाण उपलब्ध गराउने ।
– अनलाइन टेण्डर, बैठक र बिडिङ प्रणाली लागू गर्ने ।
– सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यम शिक्षा सुरु गर्ने ।
– इन्धन, मर्मत तथा सम्पत्ति खर्च विवरण सार्वजनिक गर्ने ।
– गाउँपालिकाभर स्वास्थ्य बीमा अनिवार्य गर्ने ।
– कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराउने ।
– घरायसी बिजुली महसुल नि:शुल्क गर्ने ।
– गाउँपालिका अस्पताल स्थापना गर्ने ।
– सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था गर्ने ।
– पदाधिकारी तथा सदस्यको सुविधा कानुनअनुसार वितरण गर्ने ।
– अवैध तरिकाले गरिएको ९ औं गाउँसभा खारेज गर्ने ।
– पालिकाबाट सहयोग पाउनेको नामावली सार्वजनिक गर्ने ।




