सिमकोट । जिल्लाको दक्षिण भेग चङ्खेली गाउँपालिका ६ को मेल्छाम गाउँमा सत्र वर्षीय बालिकाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताए ।
बुढालाई सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भएपनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकीमा लगिएको थियो ।
उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भएपनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्यचौकी संयोजक बुढाले बताए ।
बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत थिइन् । बुढाको घर सोही गाउँपालिका ३ को मेखाला गाउँ भए पनि अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी थिइन् ।
हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए । हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।
पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यहाँका महिलाको ज्यान जोगिँदै आएको पाइन्छ । सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनु पर्ने र दु:ख झेल्दै आउनु परेको स्वास्थ्यकर्मी बताउँछन् ।






