झापा । झापाको शिवसताक्षी नगरपालिका १० किरात चोक स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार कुन्जिबारीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेमा झापाको बिर्तामोड ३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रूपादेवी उप्रेती, बाह्रदशी ४ की ४० वर्षीया अस्मिमा खातुन र उनकी १३ वर्षीया छोरी सावरी खातुन, ३५ वर्षीया सफिना खातुन र उनका सात वर्षीय छोरा इसाफ आलम तथा तीन वर्षीय छोरा फरियाफ आलम, शिवसताक्षी ४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन् ।
प्रहरीका अनुसार गर्भवती सफिना खातुनको अवस्था मध्यम छ भने अन्य सबै घाइते सामान्य छन् । घाइते सबैलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ । बस चालक मोरङ, उर्लाबारी नगरपालिका ४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




